ताजा अपडेट

Thursday, October 8, 2015

चर्चित १० लोक गायिका, कसको कमाइ कति ?


जनक तिमिल्सिना
चर्चित १० लोक गायिका, कसको कमाइ कति ?
नेपाली लोक गायिकाको ‘फ्यान फलोइङ’ निकै चर्चा कमाएकी हिरोइनकोभन्दा कम छैन । सम्भवतः पारिश्रमिकका हिसाबले हिरोइनहरुको तुलनामा गायिकाको पारिश्रमिक राम्रो छ ।

त्यसैले त अहिले सांगीतिक आकाशमा लोक गायिकाहरुले नाम र दाम दुवै हिसाबले तहल्का पिटिरहेकै छन् । नेपालको लोक गायनको बजार नेपालको कुना कन्दरादेखि दर्जनौं देशहरुसम्म फैलिएको छ । देशदेखि विदेशसम्मको सांगीतिक यात्रामा यी गायिकाहरु खुबै रवाफ जमाइरहेका छन् । 

त्यसैले आज पश्चिम नेपालको धनगढीमा रहेकी गायिका एक हप्ता नबित्दैं न्युयोर्कमा नेपालीहरुमाझ गीत गाइरहेकी भेटिन्छिन् । यस्ता छन् अहिले चर्चामा रहेकामध्ये १० लोक गायिका र उनीहरुको आम्दानीः   

विष्णु माझी 
लोक गायनको क्षेत्रमा विष्णु माझीलाई स्वरकी ‘रानी’ मानिन्छ । स्याङ्जाको चापाकोट नगरपालिकाको खोरिया घाटमा जन्मिएकी उनका गीतहरु सुपरहिट छन् ।

स्टेज र सार्वजनिक कार्यक्रममा नदेखिने यी ‘भूमिगत’ गायिका नेपालकी महंगी लोक गायिका भएको ब्यवसायीहरु बताउँछन् । 
 
ग्रामिण पाखा पखेरीका सुसेली उनका गीत बने पनि उनको वास्तविक दुनियाँ स्टुडियो र घरसम्म मात्रै हो । उनले न त कुनै मिडियालाई अन्तर्वार्ता दिएकी छन् न त आधुनिक लोकगायिका झैं उनको फोटो नै सुट भएको छ ।

विष्णु स्टुडियो छिर्दा मुख ढाकेर छिर्छिन्, स्टुडियोमा गाउँदा त्यहाँको सिसालाई पनि पर्दाले ढाक्नुपर्छ । उनको अनुहार कसैले हेर्न पाउदैन ।

उनलाई बुटवलको महोत्सवबाट सुन्दरमणि अधिकारीले गायिका बनाउँछु भन्दैं काठमाडौं ल्याएका थिए ।
आज विष्णु देशकी सर्वाधिक महंगी तथा चर्चित गायिका बनेपनि उनको जीवन कसरी चलिरहेको छ कसैले अतोपतो पाउन सकेको छैन ।

उनको अवस्थाका बारेमा जानकारी हुनुपर्ने आवाज पछिल्लो समयमा जोडतोडका साथ उठिरहेको छ ।  

उनी सर्वाधिक हिट त हुँदैं हुन, १० हजारभन्दा बढी गीत गाउने गायिकामा पनि पर्छिन ।  उनले प्रति गीतको १२ हजारदेखि ४० हजार रुपैयाँसम्म लिने गरेको बताइन्छ । उनको वार्षिक कमाइ लाखौं रुपैयाँ हुन्छ ।   

टीका पुन
लोक गायनको दुनियाँमा सुर्खेतकी टीका पुनको स्थान अग्लै छ । वि.सं. २०५७ सालमा आफ्नो पहिलो गीत रेकर्ड गराएकी टीका अहिलेकी सर्वाधिक ब्यस्त लोक गायिका हुन् । 
उनले यो १५ वर्षको लोक गायन यात्रामा ४ हजार बढी गीत गाइसकेकी छिन् । एक गीत गाएको ७ हजार रुपैयाँ लिने उनका ब्यक्तिगत ४ वटा एल्बम बजारमा छन् । 

‘सलल बगेको भेरी...’, ‘जलेसी जमुना...’, ‘लालुपाते फूल...’, ‘क्षितिज पारी...’जस्ता चर्चित गीतकी गायिका टीकाले स्टेज शोहरुमा पनि शानदार प्रस्तुती दिने गरेकी छिन् । त्यसैले उनको माग देश र विदेशमा पनि निकै हुने गरेको छ ।
उनले स्वदेशमा एउटा शोबाट ३५ देखि ६० हजारसम्म कमाउछिन ।

‘देशका कार्यक्रममा हेरी–हेरी पारिश्रमिक लिने गरेकी छु,’ उनी भन्छिन्, ‘विदेशमा एउटा प्रस्तुती बापत २ देखि ३ लाखसम्म लिने गरेकी छु ।’  

देवी घर्ति
बाग्लुग्ङ पाण्डवखानीको रमुवामा जन्मिएकी देवी घर्ति लोक गायन दुनियाँकी अर्की चर्चित गायिका हुन् ।  
झण्डै ७ वटा एल्बम र ६ हजारजति गीतमा स्वर दिइसकेकी देवी घर्ति प्रत्येक महिनामा १५ देखि २० गीतमा आफ्नो स्वर दिइरहेकी हुन्छिन् । 
 
उनले  खडग गर्बुजामगरको ‘बतासैले रुमाल फरर...’ भन्ने गीतबाट आफ्नो गायन सुरु गरेकी थिइन ।

एउटा  गीतको ५ देखि ७ हजार पारिश्रमिकले लिने देवीले २०६१ सालबाट ब्यवसायिक गायन सुरु गरेकी हुन् ।

सामाजिक संघसंस्था र ब्यवसायिक गीतहरुअनुसार आफ्नो पारिश्रमिक फरक हुने बताउने उनी स्टेज शोमा भने देशभित्र ४० देखि ५० हजारसम्म लिन्छिन् ।

विदेशमा हुने स्टेज शोमा भने उनी १ हजार डलरसम्म लिने बताउछिन् ।

‘कार्यक्रमको प्रयोजन के हो ? भन्ने कुराले पनि केही फरक पर्छ,’ उनले नेपालीपत्रसँग भनिन्, ‘ब्यवसायिक र नाफामूलक कार्यक्रमबाट एक किमिसको पारिश्रमिक लिन्छु । सामाजिक कार्यका लागि गरिएको कार्यक्रमबाट लिने पारिश्रमिक फरक हुन्छ ।’  

२०६३ मा ‘बिर्सिंयौ कि कुन्नि...’ गीत गाएपछि उनले कहिल्यै पछाडि हेर्नै परेको छैन । त्यसपछि उनका ‘फूलमा मौरी...’, ‘लालुपाते नुग्यो भुँइतिर...’, ‘हाँस्न सिकायौं...’, ‘पखाई गयौं...’ लगायतका गीतहरु निकै चर्चित बने ।   



मुना थापामगर
गोर्खाको मनकामनामा जन्मिएकी हुन्, मुना थापामगर । लोक गायनको क्षेत्रमा उनको प्रभावशाली उपस्थिति छ । २०६१ सालमा गाउनकैं लागि गोरखाबाट काठमाडौं पसेकी हुन उनी । 

यही क्रममा उनले ‘चिसो चिसो हावा सरर....’ गीत गाएपछि उनको चर्चा आकाशिएको हो । त्यसपछि उनले पछि हेर्नु परेको छैन् । उनका ‘चरी बस्यो वरको डालीमा...’, ‘फोन गरेर पैसा सकियो...’, ‘पश्चिमीको रुप राम्रो पूर्वेलीको बोली...’ लगायतका गीत निकै हिट भएका थिए ।  

विभिन्न देशहरुको मञ्चमा प्रस्तुती दिइसकेकी मुनाले अहिलेसम्म १५ सयभन्दा बढी गीतहरुमा आफ्नो सुमधुर स्वर दिइसकेकी छिन् ।
फेसबुकमा सर्वाधिक रुचाइएकी लोक गायिकामा पर्ने उनका ६ वटा एल्बम बजारमा छन् । उनले स्वर दिएका एल्बमको संख्या भने १५ सयभन्दा बढी छ । 

उनी स्वदेशको एक स्टेज कार्यक्रमबाट ३५ देखि ४० हजारसम्म पारिश्रमिक लिने गर्छिन । ‘विदेशमा भने देश र कार्यक्रमको प्रकृति हेरेर हुन्छ,’ उनले नेपालीपत्रसँग भनिन्, ‘विदेशका कार्यक्रमहरुबाट १ देखि डेढ लाखसम्म लिन्छु ।’

उनको स्वरमा रहेको जादूले देश/विदेशमा उनको प्रस्तुतीको माग बढिरहेको छ । 


सुनिता दुलाल 
सिन्धुपाल्चोकमा जन्मेकी लोक गायिका सुनिता दुलाल कुनै समयमा इमेज टेलिभिजकी भिजे थिइन । उनले एकताका रेडियोमा समेत कार्यक्रम चलाइन् ।

‘तीज क्वीन’का रुपमा चिनिने सुनिताले दर्जनौं गीतहरुमा आफ्नो सुमधुर स्वर दिइसकेकी छिन् । 

२०५९/६० तिर पहिलो गीत ‘चेलीको माइतीघर...’ गाएर गायन यात्रा सुरु गरेकी उनी स्टेज शोहरुमा उल्कै माग हुने गायिकामा पर्छिन । उनले विश्वका ३५ भन्दा बढी देशहरुमा सांगीतिक प्रस्तुती दिइसकेकी छिन् । 

अविवाहिता सुनिताका ‘झुम्के फुली नाकैंमा बुलाकी ...,’ ‘आमाले पकाको मिठो खाना...’, ‘अब मैले पनि झुम्का लगाउँछु...’, ‘मेरो दिलैमा फूल्यौ निरमाया...’ जस्ता गीत निकै हिट भए ।

एउटा गीतबाट १५ देखि २० हजार लिने गर्छिन सुनिता । स्वदेशको कार्यक्रममा प्रस्तुती दिदा ३५ देखि ६० हजारसम्म लिने उनी विदेशका कार्यक्रमहरुमा प्रस्तुती दिदा भने १ लाख ५० हजारदेखि २ लाखसम्म पारिश्रमिक लिन्छिन् ।  कुनै महिनामा उनी मासिक रुपमा २५ देखि ३० लाखसम्म पनि कमाउछिन् भने कुनै महिना कमाइ नै हुँदैंन ।  

रमाइलो त के भने यी गायिकाले लगाउने साडी पनि विदेशमा खुबै माग हुन्छ । उनका फ्यानहरुले ती साडी किन्न तछाड मछाड गर्छन् । यसैबाट पनि उनले प्रशस्त आम्दानी गर्छिन ।   

रेखा शाह 

‘सिमसिमे पानीमा...’ जस्तो लोकप्रिय गीतकी गायिका हुन्, रेखा शाह । २०४९ सालबाट गायनमा करिअर सुरु गरेकी रेखा धादिङमा जन्मिएकी हुन् ।

अहिले उनी काठमाडौंमा बस्दैं आएकी छिन् । झण्डै १ सय बढी गीत गाइसकेकी उनलाई अहिले सांगीतिक बजारमा सुन्दरी गायिकाका रुपमा चिन्ने गरिन्छ ।

आधुनिक गीतका ३ वटा गीति एल्बम निकालिसकेकी रेखा स्टेज कार्यक्रममा लागि भने आफूलाई ‘चुजी’ भन्न रुचाउछिन् ।

‘म आयोजक हेरेर मन परेका स्टेज कार्यक्रमहरु मात्र गर्छु,’ नेपालीपत्रसँगको कुराकानीमा रेखाले भनिन्, ‘त्यसैले म स्टेज कार्यक्रमहरुबाट राम्रो कमाउने गायिकामा पर्दिन् ।’ 

सेलेक्टेड कार्यक्रममा मात्र सहभागिता जनाउने यी गायिका देशभित्रका एक कार्यक्रममा लागि ३५ देखि ५० हजारसम्म लिन्छिन् ।

देशबाहिर भने उनी एक दिनको ५० हजारदेखि १ लाखसम्म लिने गरेको बताउँछिन् । विदेश जाँदा २/३ दिननै कार्यक्रममा हुने भएकाले उनको कमाइ त्यहीअनुसारमा वृद्धि हुँदैं जान्छ । उनले अरुको गीत भने गाएकी छैनन् । 
सन् २०१६ का लागि भने रेखाले विशेष कार्यक्रम ल्याउँदै छिन, विदेशमा बस्ने संगीत पारखीहरुका लागि । उनको नामको रेखा थापा फाउण्डेसनले सांगीतिक विश्व टुर गर्दैछ । ‘त्यो टुर विशेष हुनेछ,’ रेखाले सुनाइन्, ‘हामी संसारभर पुग्नेछौं । जहाँ नेपाली छन त्यहाँ त्यहाँ ।’


मञ्जु पाैडेल
  गुल्मीमा जन्मेकी मञ्जु पौडेल ‘स्टेज क्वीन’का रुपमा नेपाली लोक संगीतको क्षेत्रमा चिनिन्छन् ।

स्टेज शोमा खुबै जमेकी यी गायिका विदेशमा हुने कार्यक्रमहरुमा पनि उतिकै ब्यस्त रहन्छिन् ।
 
‘तिमी लाइटर म भए चुरोट, धुँवा सरी फैलिएछ कुरो त...,’ ‘मनको तिर्खा मायाले मेटेको, तिमी हामी लुकेरै भेटेको...’ जस्ता हिट गीतकी गायिका मन्जु स्वेदशमा स्टेज शोबाट ४० देखि ५० हजारसम्म लिने गर्छिन ।

विदेशमा भने उनी एउटा स्टेज शोको १ लाखसम्म लिने गर्छिन ।

भन्छिन्, ‘म स्वदेशका महोत्सव र शोहरुमा उद्घोषण, गायन प्याकेजमै पनि गर्छु । त्यो हुँदा केही रकम बढी कमाउँछु । विदेशमा एउटा शो भन्दा बढी कार्यक्रमहरु भएमा त्यसका लागि रकम त्यही अनुसार लिन्छु ।’  

‘मुखैले ठिक्क बनायौं...’ भन्ने उनको यस वर्षको तिज गीत पनि खुबै चर्चामा छ ।

५ वर्षदेखि गाउन सुरु गरेकी मञ्जुले दुई दर्जनभन्दा बढी गीत गाएका छिन् ।कुनै समय रेडियोमा काम गर्ने उनी चर्चित कार्यक्रम प्रस्तोताका रुपमा पनि चिनिने गरेकी छिन् ।   


ज्योती मगर 

ज्योती मगरको चर्चा गायनभन्दा बढी उनको हाउभाउ र नृत्यका कारण हुने गरेको छ । तर, ज्योती यसलाई अस्वीकार गर्छिन । 

अहिलेसम्म २ दर्जनबढी गीतहरुमा आफ्नो स्वर दिइसकेकी ज्योतीका ७ वटा एल्बम बजारमा छन् । देशभित्रका स्टेज शोहरुमा ३० हजारदेखि ५० हजारसम्म लिने उनी विदेशमा भने डेढदेखि दुई लाखसम्म लिने गर्छिन् ।

ज्योतीका ‘उही मुलाको सिन्की...’, ‘जिम्वाल बाउकी छोरी...’, ‘पिरतीमा दम छ...’, ‘मन किन टाढा भयो...’, ‘चौबन्दी चट्टै...’जस्ता गीतहरु खुबै हिट भएका छन् ।  

वि.सं. २०६३ सालदेखि लोक गायनमा डेब्यु गरेकी ज्योती रोल्पा नुवागाउँकी हुन् । मासिक आम्दानी भने एकै किसिमको नभएको बताउँने ज्योतीको खल्तीमा कहिले मासिक ५/६ लाखसम्म भित्रिन्छ ।

भन्छिन्, ‘मासिक कमाइ एकै किसिमको हुँदैंन । कहिले ५/६ लाखसम्म कमाइन्छ । कहिले खाली बस्दा उल्टै आफ्नो खल्तीबाट पैसा खर्च गर्नु परिरहेको हुन्छ ।’

ज्योतीको माग पनि पछिल्लो समयमा लोक बजारमा उल्लेख्य छ । स्टेजमा ज्योतीको नृत्यको माग पनि उत्तिकै बढी छ । देश विदेशमा ब्यापक चर्चा र विवाद पनि हुने गरेको छ उनको । तर, उनी यी सबैका बाबजुद पनि स्टेज कार्यक्रमहरुमा उत्तिकै जमेकी छिन् ।  

रमिला न्यौपाने
 रमिला न्यौपाने पनि लोक दोहोरी दुनियाँकी परिचित गायिका हुन् । सिन्धुपाल्चोक बाँडेगाउकी रमिला सिजनमा प्रायः ब्यस्त रहन्छिन् ।

उनी काठमाडौं बाहिरका स्वदेशी कार्यक्रममा स्टेजमा गीत गाएको एक दिनको २५ देखि ३० हजार रुपैयाँ लिन्छिन् ।
 
देशबाहिरका लागि भने उनी एक कार्यक्रमको १ देखि डेढ लाख रुपैयाँ लिने गर्छिन । प्रायः आफ्ना मात्र गीत गाउने रमिलाले अहिलेसम्म झण्डै ७० भन्दा बढी गीतमा स्वर दिइसकेकी छन् ।

उनको सर्वाधिक चर्चित गीत भने ‘झमझम दर्कियो पानी...’ हो ।

यही गीतले रमिलाको भविष्यलाई लोक दोहोरी दुनियाँमा स्थापित गरिदिएको छ । रमिलाका अहिलेसम्म १७ वटा एल्बम बजारमा आइसकेका छन् । 


जानकी तारमीमगर  

गायिका जानकी तारमीमगर नयाँ पुस्ताकी चलेकी लोक गायिकामा पर्छिन ।

सुर्खेत स्थायी घर भएकी यी गायिका विं.सं. २०६७ सालबाट यो क्षेत्रमा प्रवेश गरेको भएता पनि उनको चर्चा चाँडै चुलिएको छ ।  
‘कार किनेर ल्याउ माया....’,  भन्ने उनको गीत तीन वर्षदेखि लगातार चर्चामा छ । यसबाहेक उनले ‘जता हावा उतै चल्छ हुरी...’, ‘पानी पुरी...’,लगायतका २ दर्जन बढी गीतहरु गाइसकेकी छिन् ।   

१० वटा एल्बममा निकालिसकेकी जानकी नेपालमा स्टेज शोबाट २५ हजारदेखि ३५ हजारसम्म लिन्छिन् ।

देशबाहिरका कार्यक्रमहरुका लागि भने उनले ७० हजारदेखि १ लाखसम्म लिने गरेको बताउँछिन् ।

भन्छिन्, ‘म भर्खरै अगाडि बढ्न खोजिरहेको गायिका हुँ, मैले स्रोता/दर्शकको राम्रो माया पाइरहेकी छु । त्यही नै मेरो सबैभन्दा ठूलो कमाइ हो ।’ 

Related Posts:

0 comments:

Post a Comment