ताजा अपडेट

Sunday, August 23, 2015

छात्रवृत्तिमा पठाएर सरकारले बेवास्ता गर्दा चीनमा पढ्ने डाक्टरको बिजोग


२०७२ भदौ ७ गते ६:४८ मा प्रकाशित
७ भदौ, काठमाडौं ।सरकारी छात्रवृत्तिमा एमबीबीएस पढ्न चीन गएका विद्यार्थी सरकारी लापरबाही र समन्वय अभावले अलपत्र परेका छन्।
शिक्षा मन्त्रालयले आह्वान गरेको खुला प्रतिस्पर्धामा छानिएर चीनको तोङ्जी विश्वविद्यालयमा पढ्न गएका विद्यार्थी अध्ययन सकेर आएको १३ महिनासम्म पनि नेपाल मेडिकल काउन्सिलको परीक्षामा सामेल हुन पाएका छैनन्।पाँच वर्षको अध्ययन सकेर नेपाल फर्किएका विद्यार्थीलाई काउन्सिलले पढाइको अवधि नपुगेको भन्दै पुनः अध्ययनका लागि चीन जान सुझाव दिएको अन्नपूर्ण पोस्टमा खबर छ।
Doctorचीनमा ६ महिना पुनः इन्टर्नसिप गरेर आएपछि काउन्सिलले लाइसेन्स परीक्षामा सहभागी गराउने जनाएको छ। उक्त विश्वविद्यालयले भने विद्यार्थीलाई अध्ययन पूरा गरिसकेको सम्पूर्ण प्रमाणपत्र दिएर पठाइसकेको छ। विद्यार्थीले विश्वविद्यालयबाट दिइएका शैक्षिक प्रमाणपत्र तथा इन्टर्नसिप गरेको प्रमाणसमेत अन्नपूर्णलाई उपलब्ध गराएका छन्।
‘हामीलाई विश्वविद्यालयले पढाइसकेको सबै प्रमाणपत्र र आवश्यक कागजात दिएको छ। अब हामी कहाँ गएर किन इन्टर्नसिप गर्ने?’ पीडित विद्यार्थीमध्येकी एक श्रद्धा चुडालले भनिन्, ‘पढाइ सकेर फर्किएको विश्वविद्यालयमा फेरि कसरी इन्टर्नसिपमा जाने हो ? इन्टर्नसिपको प्रमाणपत्र पनि दिइसकेको छ।’
मेडिकल काउन्सिल र शिक्षा मन्त्रालयको समन्वयमै सरकारले विश्वविद्यालय छनोट गरी पाँच वर्षका लागि विद्यार्थी चीन पठाएको हो। अर्की पीडित विद्यार्थी वन्दना अधिकारीले अध्ययनका लागि चीन गइसकेपछि बनाइएको नियम आफूहरूलाई लागू नहुने बताइन्।

0 comments:

Post a Comment