ताजा अपडेट

Sunday, September 6, 2015

नक्कली लालबाबु बन्न १० दिन भिडियो हेरेँ: मनोज

ghai jatra 2072(26)
 काठमाडौं । यसपालीको गाइजात्रा महोत्सवमा कमलनयनाचार्यको नक्कल उतार्ने धुनमा थिए हास्यकलाकार मनोज गजुरेल । तर, सो धुनलाई बीचैमा स्थगित गर्दै उनी हिँडे मन्त्री लालबाबु पण्डितको दाँत खोज्न ।
अन्तिम समयमा कमलनयनाचार्यलाई ‘धोका’ दिनुको कारण उनी यसरी खुलाउँछन्ः
हो मैले कमलनयनाचार्यको क्यारिकेचर गर्छु भनेर मुड बनाइसकेको थिएँ । स्क्रिप्ट पनि दिमागमा हल्का खेलाइरहेको थियो । तर यसो सामाजिक सञ्जाल चहार्दा मैले उनको खासै चर्चा-परिचर्चा भेटिनँ । समाचारहरुमा राम्रै कभरेज पाइरहेका भए पनि पब्लिकले खासै चासो नदिएका देखेपछि मैले मुड बदलेको हुँ ।’
सामाजिक सञ्जालबाटै उनले उपयुक्त पात्र फेला पारे, लालबाबु पण्डित । पछिल्ला दिनहरुमा असामान्य चर्चा पाइरहेका सामान्य प्रशासनमन्त्रीको अवतार भिर्ने निर्णय लिन उनले धेरै सोचेनन् । पूर्वराजा ज्ञानेन्द्रदेखि माओवादी अध्यक्ष प्रचण्डसम्मको दुरुस्त नक्कल गरेर सफलता कमाएका गजुरेलले फेरि पनि सफल भएका छन् ।
लालबाबुलाई गाइजात्रामा ढाल्दाखेरीको अनुभव उनले यसरी सुनाएः
नेपालको राजनीतिमा सकारात्मक पात्रहरुको खडेरी नै छ । आजसम्म जे-जति नेताहरुको नक्कल गरेँ, प्राय सबैलाई नकारात्मक ढंगले नै चित्रण गरेको थिएँ । नकारात्मक छवी नै उनीहरुको ठूलो योग्यता थियो । यस अर्थमा लालबाबुको नक्कल मेरो लागि फरक प्रयोग हुन गएको छ । गाइजात्रामा नकारात्मक मात्रै होइन, सकारात्मक विषयले पनि स्पेस पाउँछ भन्ने दृष्टान्त होइन त यो ?
ghai jatra 2072(25)
१० दिन भिडियो हेरेँ
लालबाबु रोजेपछि शुरुका मैले युट्यूवमा भेटेसम्म उनका अन्तरवार्ता र भाषणका भिडियो खोजी-खोजी हेरेँ । ती भिडियोहरुलाई मोबाइलमा डाउनलोड गरेर सुन्दै आवाज नक्कल गर्ने अभ्यास थालेँ । दस दिनजतिमा पारा आइहाल्यो ।
मैले यसअघि कहिल्यै उहाँको आवाजको नक्कल गरेको थिईँन । तर, उहाँको आवाज र बोल्ने शैली फरक किसिमको भएकाले नक्कल गर्न गाह्रो भएन । उहाँको नेपाली एकदम सुद्द छ, मधेसी टोन आउँदैन । अन्तरवार्ता दिँदा पनि उहाँ भाषण गरेजस्तै ठूलो स्वरमा बोल्नुहुँदो रहेछ ।
मैले उहाँसँग नजिक पार्टीका नेता तथा पत्रकार साथीहरुसित लामो अन्तरक्रिया गरेँ । उहाँको चरित्र र हाउभाउको लगभग एउटा खाका मस्तिस्कमा तयार भयो । त्यसैका आधारमा स्क्रिप्ट डिजाइन गरेँ । त्यसपछि बाँकी रह्यो हुलियाको नक्कल ।
२५ सयको दाँत
इन्टरनेटमा लालबाबुका भनेजस्ता तस्बिर भेटिएनन् । त्यसैले पत्रकार साथीहरुले खिचेका फोटो सहयोग मागेँ । फोटोमा मैले उहाँको मुखलाई ध्यान दिएर हेरेँ । मुखभित्रको दाँत अलिक मौलिक खाले लाग्यो । त्यसैले दौडिएँ दाँत खोज्न ।
लालबाबुको दाँत देखिने फोटो बोकेर मैले २० वटा डेन्टल क्लिनिक धाएँ । अहो, डेन्टल क्लिनीकहरुले त ठहरै पार्दा रहेछन् । जाबो दाँतको उनीहरुले १२ देखि १५ हजारसम्म भने । तर, दाँत बनाउने पुराना पसल चहार्दा जम्मा २५ सयमा दाँत तयार भयो । ड्रेसअपमा चाहिँ धेरै दुख गरिनँ । पहिले प्रचण्डको क्यारिकेचर उतार्दा लगाएको सुट नै लालबाबुमा प्रयोग गरेको छु । क्यारिकेचरमा ६० क्रस गर्‍यो भने राम्रो मानिन्छ ।
दर्शक र समिक्षकको टिप्पणि सुन्दा मैले गेटअप ८० प्रतिशत मिलाएको छु भने आवाज ८५ प्रतिशत मिलाएको छु । क्यारिकेचर गर्दा उहाँमाथि घोचपेच गर्ने र उडाउने नियत राखिएन । उहाँको नभएकाले स्त्रिmप्ट चाहिँ संभवतः अलि कमजोर बन्यो ।
ghai jatra 2072(27)
तर्क होइन काम गर्ने नेता
म व्यक्तिगतरुपमा पनि लालबाबुबाट प्रभावित छु । उहाँसित पहिल्यैदेखि चिनजान भए पनि धेरै संगत गरेको चाहिँ होइन । मन्त्री भएपछि उहाँको कार्यशैलीले अरुलाई जस्तै मलाई पनि खुशी बनाएको छ । लालबाबुभन्दा टाठाबाठा, बौद्धिक र तार्किक नेता अरु धेरै होलान् । तर, उनीहरुले देशलाई के दिएका छन् त ? नेपाललाई अहिले तर्क गर्ने होइन, काम गर्ने नेता चाहिएको छ । भोली विगि्रए भने म ठेक्का लिन सक्दिन, तर आजसम्म उनले जे गरेका छन् ठिक गरेका छन् ।
आज बिहान उहाँले फोन गर्नुभएको थियो । उहाँले भन्नुभयो कि तपाईंले त गाइजात्रामा कमाल गर्नुभएको छ रे । मैले जवाफ दिएँ, ‘तपाईंले पनि त देशमा कमाल गर्नुभएको छ ।’ उहाँले ‘हो र ?’ भन्नुभयो । ‘तपाईंहरुले खबरदारी गरिरहनु पर्छ’ पनि भन्नुभयो । गाइजात्रा हेर्न आउने इच्छा व्यक्त गर्नुभएको छ । म उहाँलाई स्वागत गर्न आतुर छु ।
ghai jatra 2072(28)
नक्कली लालबाबुले बोल्ने दुई डाइलग
– मेरो विरोध डिभी-पिआर लिएका सर्वसाधारण नेपालीप्रति होइन, नेपाल आमाको दुध आउञ्जेल लाम्टो रित्याउने र आउन छाडेपछि विदेशी मितबाउको घुँडो चुस्ने लास्टसेवकहरुप्रति मात्रै हो ।
– पिआरसित पोइला जाने कर्मचारीका लागि म कालबाबु हुँ । डिभीसँग डेटिङ गर्ने हाकिमका लागि अकालबाबु हुँ । कानूनसँग हनिमून मनाउने खोज्नेहरुका लागि त्रिकालबाबु हुँ । राज्यलाई ठग्न खोज्नेहरुका लागि महाकालबाबु हुँ । नेपाली जनताका लागि लालबाबु हुँ ।

0 comments:

Post a Comment